अकस्मात मन्त्रीपरिषद्को बैठक बस्दै, अध्यादेश फिर्ता लिन सक्ने

१२ वैशाख, काठमाडौं । अबको आधा घन्टामा मन्त्रीपरिषदको बैठक बस्ने जानकारी प्राप्त भएको छ । एक उच्च स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले जारी भएका दुई अध्यादेशका बारेमा छलफल गर्ने अनुमान गरिएको छ । आज ती अध्यादेश फिर्ता गर्ने निर्णय पनि हुनसक्ने बताइएको छ ।
मन्त्रीपरिषदको बैठक सोमबार नियमित रुपमा बस्ने गर्छ । यो आकस्मिक बैठक भएकाले अध्यादेशका बारेमा निर्णय हुनसक्ने अनुमान गरिएको हो । गएको सोमबार सरकारले दल विभाजनका लागि खुकुलो पार्ने र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि हुने अध्यादेश ल्याएको थियो ।
अध्यादेशको विपक्षी दलसहित स्वयं नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सरकारकै मन्त्रीहरूबाट विरोध भएको थियो ।
बिहीबार भैसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ६ जना सचिवालय सदस्यको भेलाले सरकारले जारी गरिएका अध्यादेश फिर्ता गर्नुपर्नेसँगै सचिवालय तथा केन्द्रिय कमिटीको बैठक गर्नुपर्ने निर्कर्ष निकालेको थियो । यसअघि बुधबार २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाएका थिए ।