Breaking News

रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि नेपालले सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध

१२ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि नेपालले बोलेको छ । आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने बताएको छ ।

त्यस्तै, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव चर्किन नदिन समेत भनेको छ ।

‘नेपाल सरकारले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाएर तनाव कम गर्न अपिल गर्न चाहन्छ ।’

कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुण रहेको भन्दै यसको पूर्ण सम्मान हुनुपर्ने पनि नेपालको भनाइ छ । ‘संयुक्त राष्ट्रसंघको सदस्य भएको हुँदा राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमिकता र भौगोलिक अखण्डताको सिद्धान्त अक्षुण रहेको र यसको पूर्ण पालना हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।