४ फागुन, काठमाडौं । आज बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा एमसीसी बारेका कुनै निष्कर्ष आएन । बैठकको सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले भोली बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । ‘तपाईंहरु जे सुकै गर्नुस्, सरकारले पेश गर्छ ।
देउवाको भनाइमा जोड दिँदै कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी सम्झौता कम्तीमा संसदमा टेबल हुन दिन आग्रह गरे । उनले गठबन्धन पनि जोगाऔं र कम्तीमा एमसीसी टेबल गरौं भनेका थिए ।
बैठकमा कांग्रेस महामन्त्री थापाले संसदबाट एक संकल्प प्रस्ताव पास गरेर एमसीसी अनुमोदन गर्ने प्रस्ताव राखेका थिए ।
एमसीसी सम्झौतामा उठेका प्रश्नहरुलाई लिएर सरकारले एमसीसीलाई सोधेको प्रश्न र एमसीसीको स्पष्टीकरण संसदमा संकल्प प्रस्तावको रुपमा लैजाने भन्दै उनले भने, ‘यसलाई नै अन्तिम मान्ने र काम गर्ने क्रममा त्यो भन्दा फरक पाए नेपाल सरकारले एकपक्षीय रुपमा खारेज गर्ने संकल्प गरौं ।’
तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘धेरै अगाडि बढिसक्यो’ भन्दै त्यसलाई अस्वीकार गरेका बैठकमा सहभागी एक नेताले सुनाए ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले भने एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेका थिए ।
उनीहरुले एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखेका हुन् ।
अहिलेसम्म ऋण तथा अनुदान सम्झौता संसदमा नलगेको भन्दै दुबै दलका नेताहरुले एमसीसीबारे पनि छलफल गर्नुपर्ने बताएका स्रोतको भनाइ छ । उनीहरुले एमसीसी संसदमा टेबल गर्नुअघि एमालेसँग सम्वाद गरेर अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए त्यसपछि बैठक विना निष्कर्ष टुंगिएको थियो ।