५ फागुन, काठमाडौं । फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।
आज विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।
खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी थियो ।
खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।