Breaking News

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डबीच बिहान भेटवार्ता : सत्ता गठबन्धनको ३ बजे भनिएको बैठक बेलुका ५ बजे सारियो

५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डबीच बिहान भेटवार्ता भएको छ । भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ ।

बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि ३ बजे बस्ने भनिएको थियो ।

सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा निर्णायक छलफल हुने नेताहरूले बताएका छन् । गठबन्धनको बैठकमा आज सहमति जुटाएर शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेस गर्ने सरकारको तयारी छ । त्यसैले आजको गठबन्धनको बैठकलाई चासोका साथ हेरिएको छ ।

एमसीसीको विषयमा सत्ता गठबन्धनका नेताहरू विभाजित छन् । नेपाली कांग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताकोतस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना यसलाई संसदमा लैजान नहुने अडानमा छन् ।

जनता समाजवादी पार्टी (जसपा) ले एमसीसीबारे पार्टीको आधिकारिक धारणा तय गरिसकेको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन देखिएका छन् । यद्यपि संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा आफ्ना धारणा राख्दै आएका छन् ।