इराकलाई १-० ले पराजित गर्दै इरान विश्वकपमा छनोट

१४ माघ, काठमाडौं । आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ का लागि इरान छनोट भएको छ ।

कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा छिमेकी इराकलाई १-० ले पराजित गर्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको
हो ।

तेहरानस्थित आजादी स्टेडियममा इरानलाई जिताउन मेहदी तारेमीले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए ।

यसअघि प्रशिक्षकसँगको विवादका कारण तारेमीलाई टिमबाट खेल्न दिइएको थिएन । तर प्रशिक्षक ड्राग स्कोकिचले इराकविरुद्धको खेलमा उनलाई मैदान उतारेका थिए ।

इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले खेलाडीहरुलाई बधाई दिएको इरान न्युज एजेन्सीले जनाएको छ । ‘यो जितले इरानी जनतामा खुसीको लहर ल्यायो’ उनले भनेका छन् ।

तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अंक जोडेको छ । हाल शीर्ष स्थानमा रहेको इरान शीर्ष दुईमा रहने पक्का छ ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् । इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो ।

यसै समूहको अर्को खेलमा लेवनानलाई १-० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ ।

यस्तै सिरियालाई २-० ले पराजित गर्दै ९ अंक जोडेको युएई तेस्रो स्थानमा छ ।

यसैगरी छनोटको समूह ‘बी’ मा अष्ट्रेलिया र जापानले जित हात पारेका छन् । अष्ट्रेलियाले भियतनामलाई ४-० र जापानले चीनलाई २(० ले हरायो ।

जापान ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । साउदी अरेबिया शीर्ष स्थानमा छ । यस समूहबाट तीन टिम सिधै विश्वकप छनोट हुने होडमा छन् ।

आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि अहिलेसम्म आयोजक कतारसहित १४ राष्ट्र छनोट भइसकेका छन् ।

कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १३ राष्ट्र छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेका हुन् । अब १८ राष्ट्र छनोट हुन बाँकी छ ।

अहिलेसम्म छनोट भएका १४ टिम

युरोप : फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स

दक्षिण अमेरिका : ब्राजिल, अर्जेन्टिना

एसिया : इरान

आयोजक : कतार