१२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रविणता प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।
खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ ।
खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका
थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।
अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय माग गरेको छ ।