युक्रेनबारे गरेको टिप्पणीका कारणले जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिए

एजेन्सी

युक्रेनबारे गरेको टिप्पणीका कारणले जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् । के एचिम स्कोनब्याचले रुसले युक्रेनमाथि हमला गर्छ भन्ने कुरा बकवास भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मान मात्र चाहेको जिकिर गरेका थिए ।

शुक्रबार भारतमा थिंक ट्याङ्कहरूको बहसमा उनको सो कुरा बताएका थिए । उक्त छलफलको भिडियो सामाजिक सञ्जालमा प्रकाशित गरिएको थियो । भिडियोमा उनले पुटिनलाई पश्चिमा देशहरूले सम्मानको व्यवहार गर्नुपर्ने बताएका थिए । उनले सन् २०१४ मा रुसले आफूमा गाभेको क्रिमिया अब फिर्ता नहुने पनि जिकिर गरेका थिए । युक्रेनका विदेशमन्त्रीले उनको टिप्पणीप्रति आपत्ति जनाइसकेका छन् । विवाद बढेपछि स्कोनब्याचले शनिबार तत्काल लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका थिए ।

अमेरिका र बेलायतलगायतका देशले युक्रेनलाई हतियार सहयोग गरे पनि जर्मनीले हालसम्म हतियार पठाउने युक्रेनको आग्रहलाई स्वीकार गरेको छैन । रुसले पनि युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । तर, राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सुरक्षालाई ध्यानमा राख्दै युक्रेनलाई नेटोमा आबद्ध हुन रोक्नुपर्ने माग गरेका छन् । नेटोले पूर्वी युरोपमा हतियार पठाउन रोक्नुपर्ने पनि उनको माग छ ।

बीबीसी