Breaking News

१७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिस्कार

३० पुस, काठमाडौं । नेपाल पत्रकार महासंघको कपिलवस्तुको तिलौराकोटमा केन्द्रीय समिति बैठक आयोजना गरी बैठक आजबाट सुरु भएको भएपनि महासंघका करिब १७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।

बै्रठक चलिरहेको बेला केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएपछि महासंघको केन्द्रीय समिति बैठक औपचारिक रुपमा सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा अहिले पदाधिकारीहरुको बैठक बसिरहेको छ ।

महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा प्रश्न उठाउँदै यी विषय सम्बोधन नभएसम्म बैठक सुरु हुन नसक्ने बताए ।

उनीहरुले महासंघकी उपाध्यक्ष बाला अधिकारीको उपस्थितिबारे पनि प्रश्न उठाएका छन् ।

त्यसपछि केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, बबिन शर्मा, माधव पौडेल, शान्तराम बिडारी लगायत बैठक कक्षबाट बाहिरिएका छन् ।

भित्रै रहेकाहरुले पनि बाहिरिएका केन्द्रीय सदस्यहरुको सहभागिता विना बैठक सन्चालन हुन नसक्ने भन्दै पदाधिकारीहरुलाई पहिले सहमति गर्न आग्रह गरेका थिए । त्यसपछि अहिले पदाधिकारीहरुको बैठक जारी छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले मिडिया अवार्डको आयोजक ड्रिम हाइसँग तीन लाख रुपैयाँ लिएर सहकार्य गरेका थिए । सो अवार्ड अधिकांश पत्रकारहरुले बहिस्कार गरेका थिए । अवार्डमा महासंघको संलग्नताबारे प्रश्न उठेपछि महासंघकी सचिव सिर्जना अर्यालले विज्ञप्ति जारी गर्दै संलग्नता नरहेको बताएकी थिइन् ।

त्यसअघि महासंघ अध्यक्ष पोखरेलले काउन्सिलका अध्यक्ष बस्नेतलाई दिएको सिफारिस पत्रमा २०५५ सालमा केन्द्रीय सभासद (पार्षद) रहेको र २०६८ सालमा केन्द्रीय समिति सदस्य रहेको उल्लेख गरिएको छ । तर बस्नेतले नेपाल पत्रकार महासंघको सदस्यता भने २०६० साल साउन ९ गते लिएको महासंघको रेकर्डमा देखिन्छ ।

महासंघकी उपाध्यक्ष बाला अधिकारीले कांग्रेसको राजनीतिमा सक्रिय हुने भन्दै महासंघबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् । तर उनी महासंघको आजको केन्द्रीय समिति बैठकमा सहभागी भएकी छन् ।