काठमाण्डौं उपत्यकामा मात्रै १४४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाण्डौं उपत्यकामा मात्रै १४४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै आधा बढी संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५ हजार ८४२ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ जना रहेका छन् । हाल देशभर १४ हजार ३४० जना कुल सक्रिय संक्रमित रहेका छन् । यस हिसावले काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमित ८ हजार ३९६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङमा १०५, पर्सामा ५१, चितवनमा ६६, कास्कीमा १३१, रुपन्देहीमा ६५, सुर्खेतमा १८ र कैलालीमा ५३ जनामा संक्रमण पुष्टि भएको छ । हाल ५०० भन्दा बढी संक्रमित रहेका जिल्लामा उपत्यकाका ३ जिल्लासहित कास्की र मोरङ समेत रहेका छन् ।

यस्तै २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलाली छन् भने मुगु जिल्लाचाहिँ संक्रमणमुक्त रहेको छ । पछिल्लो २४ घण्टामा भने देशभर ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।