काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बन्दै : आज उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिए

देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको छ । आज काठमाण्डौ उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो ।

यता देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।

यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल संक्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । आजै कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।