राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त फिल्म ‘परस्त्री’ निर्माणको घोषणा

फिल्म ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त फिल्म निर्माणको घोषणा भएको हो । निर्देशक दीपेन्द्र के खनालको लेखन रहेको फिल्म  अभिनेता सुरज पाण्डेले निर्देशन गर्न लागेका हुन् । सुरजले दीपेद्रको निर्देशन रहेको फिल्म ‘लभ लभ लभ’ बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए ।

डिएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्ममा शर्मिला पाण्डेको लगानी रहनेछ । घोषणा कार्यक्रममा फिल्म नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण गरिने निर्देशक पाण्डेले बताए । गायक तथा अभिनेता कोशिस क्षेत्रीको मुख्य भूमिका रहने फिल्मको अन्य कलाकार छनौटको क्रममा रहेका छन् । कलाकार अडिसन मार्फत छनोट गरिनेछ । निर्माण युनिटका अनुसार २२ देखि २७ वर्ष भित्रका अभिनेता, २२ देखि ३० वर्ष भित्रकी अभिनेत्री र २० देखि २५ वर्ष भित्रकी अन्य अभिनेत्री अडिसनमार्फत छानिने छन् ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको छायाङ्कन फागुनको तेस्रो साताबाट सुरु हुनेछ । फिल्मको सम्पूर्ण छायाङ्कन काठमाडौमा हुनेछ । कार्यक्रममा लेखक दीपेन्द्र के खनालले परस्त्रीको कथा पूर्ण रुपमा नेपाली परिवेशमा तयार पारिएको बताए । उनले आफ्नो कथालाई डेब्यु निर्देशक पाण्डेले न्याय गर्न सक्ने भएको जिम्मा दिएको बताए ।

खनालले निर्देशन गरेको फिल्म ‘चिसो मान्छे’ अहिले प्रदर्शनको तयारीमा छ । फिल्मको रिलिज मिति नयाँ बर्षको बैशाख ३० तोकिएको छ ।