ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकारी सके

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल

२३ पुस, काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको टिप्पणी गरेका छन् ।

काठमाडौं महानगर कमिटीले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले ओली घमण्डी भए पनि राष्ट्रियसभा निर्वाचमा हार स्वीकार गरेको टिप्पणी गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले पार्टीको जिल्ला अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने बताएका थिए ।

ओलीको सोही भनाइलाई उधृत गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘आज तपाईंहरुले सुन्नुभएको होला–केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित छ भनेर स्वीकार गरिएको छ । ‘तर कसरी स्वीकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन ।’

‘७७ जिल्लामा एकैचोटी जिल्ला अधिवेशन उद्घाटन गर्ने । देशैभररि एकैचोटी । यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन । जिल्लाजिल्लामा जिम्मा दिएको भए, त्यहाँ नेतृत्व जाने थियो । सम्बोधन गर्ने थियो । कार्यकर्ता भेला गर्ने थियो । कार्यकर्तालाई परिचालित गर्ने थिए । सबैले विषयबस्तुहरु प्रस्तुत गर्ने थिए जस्ता टिप्पणी गरेका छन् ।