विश्व नम्बर एक नोभाक जोकोभिचले यदि सत्य नबोले उनलाई डिपोर्ट गर्ने अस्ट्रेलियाली उपप्रधानमन्त्री बर्नबी जोएसले बताए

विश्व नम्बर एक नोभाक जोकोभिचले यदि सत्य नबोले उनलाई डिपोर्ट गर्ने अस्ट्रेलियाली उपप्रधानमन्त्री बर्नबी जोएसले बताएका छन्।

अस्ट्रेलिया सरकारले आफ्नो सीमामा प्रवेश गर्ने जोकोहीले पनि कोभिड १९ संक्रमणविरुद्ध भ्याक्सिन लगाएको प्रमाण अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम लागू गरिसकेको भन्दै उपप्रधानमन्त्री जोएसले कानुन सबैका लागि बराबरी भएको बताएका छन्।

‘यदि उसले आवश्यक फारमहरू भरेको छैन भने उसले अर्को राष्ट्रको सार्वभौम क्षमतालाई मजाकको रूपमा लिइरहेको छ,’ जोयसले बीबीसीसँग भने, ‘कसैले सतप्रतिशत गल्ती गरेको छ। तर पनि उसले सत्य बोल्दैन भने गल्ती गर्ने व्यक्ति जोकोभिच हो।’

कुनै पनि व्यक्ति सम्पन हुँदैमा संसारभर स्वतन्त्र रूपमा घुम्न नपाउने भन्दै उनले अन्य राष्ट्रको कानुनभन्दा माथि कोही हुन नसक्ने जिकर गरे।

अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्नुका साथै खेलजीवनको कीर्तिमानी २१औं ग्रान्डस्लाम जित्ने जोकोभिचको लक्ष्य कोभिड १९ संक्रमणविरुद्धको भ्याक्सिन लगाएको प्रमाण पेस गर्न नसकेपछि अन्यौलमा परेको छ।

जोकोभिचलाई कोभिड १९ विरुद्धको भ्याक्सिन नलाए पनि अस्ट्रेलिया प्रवेशमा अनुमति दिन लागेको खबर सार्वजनिक भएपछि सर्वसाधारणले त्यसको चर्को आलोचना गरेका थिए।

यद्यपि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले यसअघि सबैका लागि अस्ट्रेलिया प्रवेश गर्न कोभिड १९ संक्रमणविरुद्धको भ्याक्सिन अनिवार्य गरिएको स्पष्ट पार्दै कुनै एक खेलाडीका लागि विशेष व्यवस्था नहुने बताएका छन्।

‘नियम भनेको नियम नै हो, जब यो हाम्रो सिमानाका कुरामा आउँछ। नियमभन्दा माथि कोही पनि छैनन्, हाम्रो कडा सीमा नीति कोभिड(१९ बाट विश्वमै कम मृत्युदर राख्नलाई महत्वपूर्ण छ, हामी सतर्क रहन जारी राख्छौ।’

आयोजकले टेनिस अष्ट्रेलिया र भिक्टोरिया राज्यले यसमा मेडिकल छुट दिएको दाबी गर्दै आएको छ। तर अष्ट्रेलिया प्रवेशका लागि चाहिने आवश्यक मापदण्ड पूरा नगरेको भन्दै अष्ट्रेलियाको अध्यागमनले जोकोभिचलाई रोकेको छ।

उनलाई मेलबर्नको एक उपनगरमा अध्यागमन हिरासतका लागि प्रयोग गरिएको होटेलमा राखिएको छ।

जोकोभिचले आफूलाई डिपोर्ट गर्ने सरकारी निर्णयविरुद्ध आपतकालीन अनलाइन कोर्ट अपिल गरेका थिए। जोकोभिचको अपिलमाथि सोमबार सुनुवाई हुनेछ।

उनलाई देश निकाला गर्ने कि नगर्ने भन्नेबारे अदालतले सोमबार फैसला गर्नेछ।

वर्षको पहिलो ग्रान्ड स्लाम जनवरी १० बाट सुरु हुँदै छ। प्रतियोगिता सुरु हुन १० दिन मात्र बाँकी रहँदा जोकोभिचले उपाधि रक्षाका लागि कोर्टमा उत्रन पाउने वा नपाउने अझै स्पष्ट भएको छैन।

अस्ट्रेलियाले ल्याएको सीमासम्बन्धी नियम लागू गरेसँगै जोकोभिचले अस्ट्रेलियन ओपन खेल्ने वा नखेल्ने बारे बहस सुरु भएको थियो। हालसम्म जोकोभिचले कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएको वा नलगाएको बारेमा केही खुलासा गरेका छैनन्।

मंगलबार मात्र जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न अस्ट्रेलिया सरकारले अनुमति दिएको भन्दै इन्स्टाग्राममा पोस्ट गरेका थिए।