भारतमा कोरोना संक्रमण तिब्र रूपमा फैलिदै

एजेन्सी

पछिल्लो समय भारतमा कोरोना संक्रमण तिब्र रूपमा फैलिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ९ सय २८ नयाँ संक्रमित फेला परेका छन्। यो अघिल्लो दिनको तुलनामा ५६.५ प्रतिशतले बढी हो।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा सक्रिय संक्रमितको संख्या बढेर २ लाख ८५ हजार ४ सय १ पुगेको छ। पछिल्लो २४ घन्टामा १९ हजार २ सय ६ जना संक्रमणमुक्त भएका छन्। यस्तै २४ घन्टामा थप ३२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार भारतको महाराष्ट्र, पश्चिम बंगाल र दिल्लीमा सर्वाधिक संक्रमित फेला परेका छन्। महाराष्ट्रमा मात्र पछिल्लो २४ घन्टामा २६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्।

जसमध्ये मुम्बईमा मात्र २० हजार भन्दा बढीमा संक्रमण पुष्टी भएको छ। बिहिबार मुम्बईमा २० हजार १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अघिल्लो दिनको तुलनामा करिब ५ हजारले बढी हो। यसबीचमा मुम्बईमा ४ जनालाई ज्यान गएको छ।

मुम्बईमा लकडाउन हुने सम्भावना बढेर गएको छ। यसअघि मुम्बईमा दैनिक संक्रमण २० हजार नाघे लकडाउन गर्ने राज्य सरकारले बताउँदै आएको थियो।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेका अनुसार महाराष्ट्रमा लकडाउन लगाउने विषयमा मुख्यमन्त्री उद्धव ठाकरेले आज निर्णय गर्नेछन्। बिहिबार यस विषयमा गम्भीर छलफलसमेत भएको थियो।

मुम्बई महानगरपालिकाका अनुसार कोरोना संक्रमितमध्ये करिब ८५ प्रतिशतमा कुनै पनि लक्षण देखिएको छैन। संक्रमण पुष्टि भएका मध्ये बिहिबार मात्र ११७० जनामा लक्षण देखिएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये १०६ जनालाई अक्सिजन आवश्यक परेको महानगरपालिकाको स्वास्थ्य विभागले जनाएको छ।

यो सँगै मुम्बईमा मात्र सक्रिय संक्रमितको संख्या करिब ८० हजार नाघेको छ।

यस्तै राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घन्टामा सक्रमित दर १५ प्रतिशतले बढेको छ।

दिल्लीमा बिहिबार १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा १५ हजार ९७ जनामा संक्रमण पुष्टि भएको छ। यसबीचमा ८ जनाको ज्यान गएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा पछिल्लो मे ८ यताकै सर्वाधिक संक्रमण हो।

यो सँगै दिल्लीमा सक्रिय संक्रमितको संख्या ३१ हजार ४ सय ९८ पुगेको छ। यो संख्या करिब साढे ७ महिनापछि सबैभन्दा बढी हो।

यस्तै पश्चिम बंगालमा पनि कोरोना संक्रमण तिब्र रूपमा फैलिएको छ। पछिल्लो २४ घन्टामा पश्चिम बंगालमा १५ हजार ४ सय २१ जनामा कोरोना पुष्टि भएको छ। यस्तै १९ जनाको ज्यान गएको छ। यहाँ कोरोनाका संक्रिय संक्रमित ४१ हजार नाघेको छ।