Breaking News

सभापति शेरबहादुर देउवाज्यू कुन मापदण्ड प्रयोग गरेर केन्द्रीय सदस्य मनोनयन गर्नु भो ? म जान्न चाहन्छु

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनपछि कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

आज उनले एक अपिल जारी गर्दै केन्द्रीय सदस्यहरु कुन मापदण्डका आधारमा मनोनित गरिएको हो भन्ने जान्न चाहेको बताएका छन् ।

‘‘नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो हामी जान्न चाहन्छौं’ उनले भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरढा र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’

सभापति देउवाले दुईपटक गरी हालसम्म १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । जसमा आफू निकटका व्यक्तिलाई मात्र मनोनित गरेको र इतर पक्षलाई बेवास्ता गरेको कोइराला पक्षको गुनासो छ ।

नेता कोइरालाले सभापतिलाई मन पर्ने र नपर्नेका रुपमा व्यक्तिको छनोट हुन थालेमा पार्टी दुर्घटनामा पर्ने बताएका छन् । ‘सभापतिको लाइक र डिसलाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एक ढिक्का भएर प्रयत्न किन नगर्ने ?

नेता कोइरालाले पार्टीको निर्णय गर्ने ठाउँमा आफूहरु प्रभावकारी हुन नसके पनि पार्टीभित्र हुने सबै काम न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय हुनुपर्ने बताए ।
नेता कोइरालाको अपिल ::

नेता डा. शेखर कोइराला