नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः निर्विरोध चयन

१९ पुस, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले अपुरो केन्द्रीय कमिटी निर्माण गर्दै सम्पन्न भएको छ । आज बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः निर्विरोध चयन गरेको छ । बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै उनले प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

माओवादी केन्द्रको आठौं महाधिवेशनबाबट अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले फेरि मेरो काँधमा निकै ठुलो भारी आएको छ । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवाद दिए ।

आफू लामो समय पार्टी नेतृत्वमा रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चासमेत गरे । उनले भने, ‘यति लामो समय, यति धेरै राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ ।’

तर देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको उनले बताए ।

कतिपयले ‘प्रचण्ड नभए यो पार्टी के होला ?’ भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले यो प्रश्न नै गलत रहेको बताए । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनको भनाइ थियो ।