११ पुस, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को आजबाट सुरु भएको ८औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिने क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको बताएका छन् । शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरेलले २००७ सालदेखि जनअधिकारका कुरा गर्दै आए पनि आफ्नो कर्तव्य तथा राष्ट्रका समृद्धिका सवालमा दलहरुले दायित्व पूरा गर्न सके कि सकेनन् भन्ने मनन् गर्न जरुरी रहेको बताए ।
२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एउटै घोषणापत्र लिएर भाग लिएको स्मरण गर्दै उनले एकताका लागि गरेको प्रयास इमानदार भए पनि त्यसलाई जोगाउन नसकिएको बताए । पार्टी एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको पनि उनले बताए ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे नयाँ सोचका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, परराष्ट्र नीतिका सवालमा नेपालका राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने खाँचो पनि उनले औंल्याए । राष्ट्रलाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा दलहरु एउटै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।
जनअधिकारका प्रश्नमा मिल्न सक्ने तर जनताले चाहेका विकासका कुरामा दलहरु किन मिल्न सक्दैनन् भन्ने प्रश्नको जवाफ पनि खोज्नुपर्ने बेला आइसकेको उनले बताए । पूर्वाधार विकासका प्रश्नमा कुनै दलले विमति राख्न जरुरी नरहेको उनले प्रस्ट पारे । उनले भने, ‘समाजलाई लाभ गर्ने काम गर्न सक्नुभएन भने पाँच दल, ६ दल मिल्नुको कुनै अर्थ छैन ।’ पार्टी निर्माणमा कार्यकर्ताको सम्प्रभुता र राष्ट्र निर्माणमा जनताको सम्प्रभुतालाई कम्युनिस्ट पार्टीले छाड्न नहुने उनले प्रस्ट पारे ।