Breaking News

नेकपा माओवादी केन्द्रको सम्मेलन तथा ८औं महाधिवेशन उद्घाटनमा ११ दललाई निम्तो एमाले अध्यक्ष नजाने

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि काठमाडौंमा सुरु हुन लागेको पहिलो राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गरेर केही बेरमा हुँदैछ ।

सम्मेलनलाई महाधिवेशनमा रुपान्रण गर्नका लागि अहिले पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय समिति बैठक सुरु भएको छ ।

दिउँसो प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशन उदघाटन समारोहमा बिभिन्न ११ राजनीतिक दलका नेताहरुलाई बोलाउने निर्णय पनि माओवादीले गरेको
छ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ । यसअघि राष्ट्रिय सम्मेलनमा पाहुनाहरु नबोलाउने निर्णय माओवादीले गरेको थियो ।

राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण गरिएकाले एक बजेका लागि पूर्वनिर्धारित उदघाटन समारोह तीन बजेसम्मका लागि सारिएको छ ।

१२९ औं माओ जन्मजयन्तीको अवसर पारेर माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । यस अवसरमा आज बिहान विज्ञप्ति जारी गर्दै प्रचण्डले नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिएका छन् । प्रचण्डले महाधिवेशन प्रतिनिधि, पार्टी नेता कार्यकर्ता र जनसुमदायलाई नयाँ कार्यदिशा विकासको बहसमा केन्द्रित हुन अपिल गरेका छन् ।