आप्रवासीलाई अमेरिका प्रवेशमा रोक आदेश जारी

कदर समाचार

बैशाख ९, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन रोक्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षर गर्न लागेको बताएका छन् । हिजो राति ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, कोरोना महामारीपछि अमेरिकी नागरिको जागिर जोगाउन आप्रवासीलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गर्न लागेको उनले बताएका छन् ।
अदृश्य शत्रुको आक्रमण र हाम्रा महान अमेरिकी नागरिकको रोजगारी जोगाउन म आप्रवासीलाई केही समयका लागि अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् । केही सातायता ट्रम्प प्रशासनले स्वास्थ्यको मुद्दालाई देखाएर अमेरिका प्रवेश गर्न चाहने शरणार्थी, कागजात विहीनहरूलाई रोक्ने कदम ठिक हुने भन्दै आएका थिए ।
ट्रम्पको यो ट्वीटले उनी अमेरिकालाई बाँकी विश्वबाट अलग्याउन चाहन्छन् भन्ने देखिन्छ। स्रोतहरूका अनुसार केही दिनमै नयाँ ग्रिनकार्ड र कामदार भिसा दिनेको प्रावधान पनि रोकिनेछ ।
ट्रम्पले नयाँ आदेशमा हस्ताक्षर गरेसँगै अमेरिकाले काम र बसाइँ सरेर अमेरिका आउन चाहनेहरूको निवेदनलाई प्रमाणित गर्नेछैन । पहिलादेखि नै आप्रवासीप्रति कठोर नीति लिँदै आएको ट्रम्प प्रशासनले यही आदेशका भरमा यो पक्रियालाई अनिश्चितकालसम्म लब्याउन सक्छ । अमेरिका कोरोनाभाइरसको महामारीबाट  नराम्रोसँग प्रभावित भएको छ ।
आजसम्म अमेरिकामा सात लाख ९२ हजार मानिस बिरामी भएका छन् भने ४२ हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।