Breaking News

दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु

१ पुस, जनकपुरधाम । सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

सर्लाहीको कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको मृत्यु भएको छ । आगलागीमा जलेर उनका ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगन्धी कुमारीको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । जलेर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै, सर्लाहीकै मलंगवा नगरपालिका–६ खुटौना बस्ने ७० वर्षीय नसिर खाँको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगो ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएको थियो । त्यसपछि नालीमा खसेर छटपटाइरहेको अवस्थामा प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।