२८ मंसिर, काठमाण्डौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान चिपापान गरे । उनले महाधिवेशन प्रतिनिधिलाई बोलाएर चियापान गढरेका हुन् । तर कार्यकर्ता र महाधिवेशनप्रतिनिधिले उनी विरुद्ध नाराबाजी गरेका छन् । पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा लैनचौरस्थित ब्यांक्वेटमा गरेको चियापानमा उनीविरुद्ध नाराबाजी लागेको हो ।
पौडेलले सभापतिका प्रत्यासी डा. शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए । कार्यकर्ता आक्रोशित भएपछि सुरक्षाकर्मीले पौडेललाई जोगाएर सुरक्षित ठाउँमा लगेका छन् ।
यदि पौडेलले कोइरालाको पक्षमा मत हाल्न अपिल गरेको भए उनको मत बढी आउने र दोस्रो चरणमा देउवालाई सहजै पराजित गर्ने शेखर पक्षका महाधिवेशन प्रतिनिधिको दाबी छ ।
नेपाली कांग्रेसको नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत सभापतिको मतगणनाको अन्तिम परिणाममा कसैले बहुमत प्राप्त गर्न नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।
पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री देउवा पनि पुगेका छन् । ५१ प्रतिशत मत नआएपछि महाधिवेशन प्रतिनिधिलाई मनोवैज्ञानिक दबाब दिन पनि देउवा चियापानमा पुगेको कोइराला निकट नेताहरूको दाबी छ ।