नेपाली कांग्रेसको १४औं महाधिवेशनमा : सभापति पदको मतगणना जारी ३१८१ मत गणना हुँदा देउवा १५०६, शेखर ११७८, सिंह २५४, निधि १७३ र गुरुङ १६ मत

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि हिजो भएको निर्वाचनको मतगणना चलिरहेको छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३१८१ मत गणना भएको छ, जसमा देउवाले १५०० मत कटाएका छन् ।

उनले १५०६ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले ११७८ मत पाएका छन् । प्रकाशमान सिंहले २५४ र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १५ मत पाएका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।