Breaking News

देउवाको विकल्पमा लागेका छौं तर सहमति हुन सकेको छैन

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औ राष्ट्रिय महाधिवेशन आजबाट काठमाण्डौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । तर नयाँ नेतृत्व चयनका लागि भने रक्साकस्सी नै देखिएको छ । संंस्थापनइतर समूहले देउवाको विकल्पमा जाने भन्दै आफ्नो समूहबाट नयाँ नेतृत्व लिनसक्ने व्यक्ति चयन गर्न सकेको छैन । तर संस्थापन पक्षबाट भने स्वयम देउवा नै देखिएका छन् । देउवाको विकल्प खोज्नुपर्ने भन्दै नेता डा. मिनेन्द्र रिजालले संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास सफल हुन नसकेको बताएका छन् ।

आज बिहान उनले पत्रकारहरुसँगको अन्तरक्रियामा उनले भने, ‘हिजो राति १२ बजेसम्म पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा थियौं तर हाम्रो प्रयासले सार्थकता पाउन सकेको छैन ।’

कांग्रेस महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रिजालले सभापतिको टुंगो नलाग्दा आफूहरु पनि अलमलमा परेको गुनासो गरे । ‘म अहिले शीर खोजिरहेको छु, सभापतिको उम्मेदवार को बन्ने निश्चित छैन, उनले भने, ‘देउवाको विकल्पमा लागेका छौं तर सहमति हुन सकेको छैन ।’

उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने प्रयास भइरहेको बताए । पौडेल समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सभापतिमा अडान छोडेका छैनन् ।