लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी

२० मंसिर, बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् ।

पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत पाउँदा शाहले ७६७ मत पाए ।

निर्वाचनमा १६ सय ३१ मत खसेको थियो । सभापतिमा निर्वाचित पुन पूर्व राज्यमन्त्री, संविधान सदस्य एवं नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् ।

पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन् ।

दुई उपसभापतिमा संस्थापन इतरका भुवन श्रेष्ठ र संस्थापन पक्षका राजु खनाल विजयी भए । संस्थापन इतरका अष्टभुजा पाठक र संस्थापनका सुधाकर पाण्डे पराजित भए ।

यस्तै महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य विजयी भएका छन् । महामन्त्रीमा संस्थापनका खिमानसिंह रायमाझी र जन्मजय तिमिल्सेना पराजित भए ।

महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भएकी छन् । उनले संस्थापन पक्षकी सरिता चौधरीलाई पराजित गरिन् । खुल्ला सहमहामन्त्रीमा विष्णु खनाल मुस्कान र दाङका खगराज पाण्डे विजयी भए ।