१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राष्ट्रिय महाधिवेशन हिजोबाट काठमाण्डौंमा सुरु भएको छ । हिजो काठमाण्डौंको भृकुटि मण्डपमा उद्घाटन गरेर सुरु भएको महाधिवेशन आजबाट बन्दसत्र सुरु भएर पार्टीकोे नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै छ ।
पार्टी को भावी अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै खुलेका छैनन् ।
अध्यक्षका दावेदार थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना तथा संघीयता खारेजीको एजेन्डा अघि सारेका छन् ।
देशभरबाट ४२ सय प्रतिनिधिहरू सहभागी रहेको बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, अर्का अध्यक्ष जबराले सामाजिक कार्यपत्र र डा. लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रहरुमाथि हिजोदेखि नै छलफल सुरु भएको थियो । छलफल आज पनि जारी रहने र त्यो सकेर नेतृत्व चयन प्रक्रिया सुरु हुने राप्रपाका नेताहरुले जनाएका छन् ।
महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् । पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ । राप्रपामा अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको पहिलोपटक हो ।