१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु भएका छन् । आज प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ । प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसमा पहिलो पटक प्रदेश कमिटी बन्न लागेको हो । मुलुक संघीयतामा गएको ६ वर्ष पुगिसक्दा पनि कांग्रेसले प्रदेश संरचना भने बनाएको थिएन । १४ औं महाधिवेशन अघि कांग्रेसले प्रदेश अधिवेशन गर्न लागेको हो । अधिवेशनले सात वटै प्रदेशमा प्रदेश कमिटी चयन गर्नेछ ।
प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र संस्थापन र इतर समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् । प्रदेश एकमा पूर्वमहामन्त्री कृष्णप्राद सिटौलाको उम्मेदवारलाई संस्थापन समूहले समर्थन गरेको छ ।