Breaking News

मलाई त लाग्यो सीपी मैनाली राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ

१५ मंसिर, काठमाण्डौ । राप्रपाको आजबाट सुरु भएको महाधिवेशनमा शुभकामना दिन गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा र आफ्नो पार्टीको विचार तथा मत नमिल्ने भएपनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको बताएका छन् । राप्रपाको महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्दै प्रचण्डले आफू भन्दा अघि बोलेका माले महासचिव सीपी मैनालीप्रति कटाक्ष गर्न पनि भ्याए ।

सीपी मैनालीले सम्बोधनका क्रममा राजा महेन्द्र राष्ट्रवादी भएको भन्दै प्रशंशा गरेका थिए भने प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताएका थिए ।

‘तपाईँहरूको र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रियभावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाईँहामी उस्तैउस्तै गोत्र भनेको थिएँ मैले । हाम्रो विचार र दर्शन मिल्दैन’, प्रचण्डले भने, ‘म अर्को भाषा बोल्न सक्दिन । हुन त सीपीजीले सजिलै बोलिदिनुभयो । पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईँहरुको अगाडि महान राजा पनि भन्नुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँचै त्यसै हो भने सीपीजीलाई बधाई छ ।’

नेकपा मोओवादी अध्यक्ष, प्रचण्ड