आजबाट अत्यधिक चिसो बढ्ने

१५ मंसिर, काठमाण्डौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सो प्रणालीका कारण आजदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरूका पहाडी तथा तराइका केही भू-भागहरूमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ । आउँदो शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने देखिन्छ ।

यस मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ । महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको बताएको छ । आउँदो आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने पनि सम्भावना देखिएको छ।