ईश्वर पोखरेलसहित ५ जना पदाधिकारी निर्विरोध निर्वाचित : अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा निर्वाचन हुँदै

१३ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको हिजो राती बसेको बन्दसत्रमा अध्यक्ष ओलीले सुनाएको लिष्टमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।

महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध भएका छन् । त्यस्तै तीन वटा उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् । मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन ।

त्यस्तै एक अध्यक्ष पदमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । केपी ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने भएको छ । त्यसैगरी ओलीद्वारा प्रस्तावित सात सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी परेपछि सचिवमा समेत चुनाव हुने भएको हो ।