ओलीको ३०१ को सूचीमा अटाएनन् बिशाल भट्टराई : प्रदेश अध्यक्षको आश्वासन

१३ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको हिजो राती भएको बन्दसत्रमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश अनुहार समेटिँदा विशाल भट्टराई पर्न सकेनन् ।

प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक समेत रहेका भट्टराई ओलीका विश्वास पात्र मानिन्थे । दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत बनाउन उनले लबिइङ गरेका थिए ।

तर पदाधिकारीमा आकांक्षा राखेका भट्टराई ओलीले हिजो मध्यरातमा बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको सूचीमै परेनन् । सूचीमा नाम नभएकाहरुले उम्मेदवारी दिन पाउँछन् । भट्टराईले उम्मेदवारी पनि दिएनन् ।

स्रोतका अनुसार भट्टराईले नेताहरुसँग केन्द्रीय कमिटीमै नराख्दा अपमान महसुस भएको बताएका छन् । ओलीसहितका नेताहरुले भने उनलाई प्रदेश अध्यक्षको आश्वासन दिएकोे बुझिएको छ तर यस बारेमा भट्टराई केही बोलेका छैनन् ।