कोरोना भाइरस को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलियो

१२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको छ । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसकेको छ । तर ओमिक्रोन कति संक्रामक छ र विद्यमान खोप एवं उपचार विधिले यसविरुद्ध काम गर्ने वा नगर्ने भनेर पुष्टि गर्न अझै केही हप्ता लाग्ने संगठनको भनाइ
छ ।

कुन-कुन मुलुकमा फैलियो यो नयाँ भेरियन्ट ?

विभिन्न सञ्चार माध्यमहरुले जनाए अनुसार हालसम्म १० वटा मुलुकमा ओमिक्रोन भेरियन्ट फेला परेका छन् ।

१. अष्ट्रेलिया

अष्ट्रेलियाको स्वास्थ्य विभागले दुई जना यात्रुमा ओमिक्रोन देखा परेको बताएको छ । दुवै जना संक्रमित कतार एयरवेजबाट दोहा हुँदै सिड्नी आएका थिए । उक्त क्षेत्रबाट सोही जहाजमा आएका अन्य १२ जना यात्रुमा भने कुनै संक्रमण नदेखिएको तर उनीहरूलाई क्वारेन्टाइनमा राखिएको समाचारमा उल्लेख छ ।

२. इटाली

इटलीको समाचार माध्यम लाप्रेसेका अनुसार मोजाम्बिकबाट फर्किएका एक व्यक्तिमा ओमिक्रोन पोजिटिभ देखिएको
छ । उनीसँगै दुई बालबालिकासहित परिवारका ५ सदस्य समेत संक्रमित भएको लाप्रेसेले जनाएको छ ।

३. जर्मनी

नोभेम्बर २४ गते दक्षिण अफ्रिकाबाट जहाजमा आएका दुई जना यात्रुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जर्मन समाचार माध्यम डीपीएले जनाएको छ । जिन सिक्वेन्सिङ हुन बाँकी भएपनि नयाँ भेरियन्टबाट ती यात्रु संक्रमित भएकोमा कुनै शंका नरहेको समाचारमा उल्लेख छ ।

४. नेदरल्याण्ड

नेदरल्याण्डका स्वास्थ्य अधिकारीले शुक्रबार दक्षिण अफ्रिकाबाट आएका ६१ यात्रुमा कोभिड-१९ पुष्टि भएको र यसमध्ये केही यात्रुमा नयाँ ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने विश्वास गरेका छन् ।

५. बेलायत

बेलायतमा २ जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । बेलायती स्वास्थ्यमन्त्री साजिद जाभिदले दुबैजना संक्रमित दक्षिण अफ्रिकी क्षेत्रको यात्रा गरेको बताएका छन् ।

६. इजरायल

इजरालयले एक व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखिएपछि विभिन्न आपतकालीन कदम चालेको छ । नोभेम्बर २६ मा मलावीबाट आएका एक व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखा परेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका थिए ।

७. हङकङ

दक्षिण अफ्रिकापछि ओमिक्रोन भेरियन्ट फेला पर्ने दोस्रो मुलुक हङकङ हो । पछिल्लो विवरणअनुसार त्यहाँ दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।

८. बोत्स्वाना

दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा हालसम्म नयाँ भेरियन्टबाट एकजना संक्रमित भएका छन् ।

९. बेल्जियम

ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिने पहिलो युरोपेली मुलुक बेल्जियम हो । त्यहाँ शुक्रबार ओमिक्रोनका एक संक्रमित फेला परेका थिए । बेल्जियमका स्वास्थ्यमन्त्री फ्र्याङ्क भन्डेनब्रुकेका अनुसार विदेशबाट आएका तर खोप नलगाएका व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।

१०. चेक गणतन्त्र

उत्तरी क्षेत्रको लिबेरेक शहरस्थित क्षेत्रीय अस्पतालका प्रवक्ता भ्याक्लाभ रिकारले शनिबार चेक टेलिभिजनमा बोल्दै एक महिलामा ओमिक्रोन पुष्टि भएको बताए । ‘जेनेटिक तथा मोलिक्युलर डायग्नोस्टिक्स विभागका मेरा सहकर्मीले जिन सिक्वेन्सिङपछि नयाँ भेरियन्टको सम्भावना ९० प्रतिशत रहेको पुष्टि गरेका छन्’, उनले भने ।

तर छिमेकी मुलुक भारतमा ओमिक्रोनबाट आइतबार बेलुकासम्म कोही पनि संक्रमित भएका छैनन् । शनिबार कर्नाटक राज्यमा २ जना दक्षिण अफ्रिकी नागरिकमा कोरोना पोजिटिभ देखिएको थियो । तर दुवै जना ओमिक्रोनबाट नभई डेल्टा भेरियन्टबाट संक्रमित भएको पाइएको थियो ।

एजेन्सीहरूको सहयोगमा