१० मंंसिर, काठमाण्डौ । राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज एक पत्रकार सम्मेलन गरी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको
हो ।
राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरु सामाजिक सञ्जालमा उब्जिएको भएपनि विभागले सम्बन्धित पक्षहरुसँग छलफल गरी जनगणना कार्यलाई अगाडी बढाएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताए ।
जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उनले केन्द्रीय तथ्याङ्क विभागले विवरण इन्ट्री गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिए । एक वर्षपछि जनगणनाको रिपोर्टहरु निकाल्न सुरु गर्ने र दुई वर्ष भित्रमा सम्पूर्ण जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उनको भनाई छ । जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने बताइएको थियो ।