राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने

७ मंसिर, जनकपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने जनाएका
छन् ।

अध्यक्ष नेपालले चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उनले सुझाव दिए । एउटा प्रदेशमा एकै दिन तीनै तहको निर्वाचन, पुनः अर्को प्रदेशमा अर्को एकैदिन तीनै तहको निर्वाचन गर्दा राम्रो हुन्छ ।” त्यसो गर्दा देशलाई पनि आर्थिक भार कम पर्ने र उम्मेदवारको पनि खर्च कम हुने उनको सुझाव थियो ।

न्यायपालिकामा देखिएको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा पनि जोड दिए । उनले न्यायपालिकाभित्र देखिएको द्वन्द्वको समाधान छलफल तथा आपसमा समझदारी गरेरै निकाल्नुपर्ने बताए । हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र संवाद नै हो, अरू कुनै विधि नै छैन, त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएको विवाद समाधान गर्नुपर्छ ।