Breaking News

कोभिड १९ को महामारीसँगै साइबर अपराधी सल्बलाउन थाले सचेत रहन अनुरोध

बैशाख ८, काठमाडौं । आजभोलि विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको बेला अरुलाई ठगेर आफ्नो उद्देश्य पूरा गर्ने गिरोह लागिपरिइहेको छ । इन्टरनेटमा सजिलो शिकारको खोजीमा रहेको यो गिरोहले कोरोनाको महामारीको बारेमा जिमेल प्रयोगकर्तालाई हरेक दिन एक करोड ८० लाख इमेल पठाइरहेको पाइएको छ ।
प्राविधिक कम्पनी गुगलले दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारीको बेला विश्वभर ‘फिसिङ अट्याक’को बाढी नै आइरहेको छ । ‘फिसिङ’ इन्टरनेटमा ठग्ने त्यो तरिका हो, जसमा अपराधीले इमेलमार्फत् प्रयोगकर्तालाई प्रलोभन देखाएर पासवर्ड, क्रेडिट कार्ड डिटेल जस्ता व्यक्तिगत जानकारी लिने गर्दछ ।
गुगलका अनुसार उसले यस्तै १० करोड फिसिङ इमेल हरेक दिन ब्लक गरिरहेको छ । विश्वभर जिमेल प्रयोगकर्ता डेढ अर्ब रहेको बताइन्छ ।
अपराधीहरुले जीमेल प्रयोगकर्तालाई बिभिन्न प्रकारका इमेल पठाएका हुन्छन् । त्यसमा केही इमेल विश्व स्वास्थ्य संगठन जस्ता संस्थाको नामबाट पठाइएको हुन्छ र कुनै सफ्टवेयर डाउनलोड गर्न उक्साइन्छ वा बहाना बनाएर चन्दा मागिन्छ । साइबर अपराधीहरुले केही दिनयता सरकारी संस्थाको नामबाट पनि फाइदा उठाउने कोसिस गरिरहेका छन् ।
ठग्ने उद्देश्यले पठाइएका ९९ दशमलव ९ प्रतिशत इमेललाई आर्टि्फिसियल इन्टेलिजेन्स प्रविधिमार्फत् ब्लक गरिरहेको गुगलले दाबी गरेको छ । साइबर सुरक्षासँग सम्बन्धित कम्पनीहरुले पनि कोरोना भाइरसको नाममा पठाइएका ‘फिसिङ इमेल’मा निगरानी गरिरहेको जनाएका छन् । त्यसकारण तपाई हामीलाई त्यस्ता खालका ईमेल म्यासेज र अन्य प्रकारका सामाजिक प्रलोभनमा नपरी सचेत र सजक हुन अनुरोध छ ।

लेखक : कदर न्यूज