साझा पाटीसँग पार्टी एकीकरण गर्नु नै मेरो गल्ती थियो

संयोजक, मिलन पाण्डे

६ मसिर , काठमाण्डौ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले दोस्रो पटक पार्टी एकीकरण गरेर गल्ती भएको स्वीकारेका छन् ।

त्यस्तै पार्टी एकीकरण गर्दा बाहिरै बसेका उपाध्यक्ष अजिता राईहरुले नयाँ दल दर्ता गरेपछि बधाई दिँदै उनले त्यसवेला एकीकरण गरेर गल्ती भएको स्वीकारेका हुन् ।

संयोजक पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा आज स्टाटेड लेख्दै ‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भनेका छन् ।

पाण्डेले संगठनिकरुपमा पनि सँगै हुने बताउँदै भनेका छन्, ‘तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईंहरु १३ जनासँग माफी माग्छु । हाम्रो उद्देश्य पवित्र थियो ।’

विवकेशील र साझा पार्टीबीच २०७७ मंसिरमा एकीकरण हुँदा तत्कालीन उपाध्यक्ष राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने निर्णय गरेका थिए ।

साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक एजेण्डामा स्पष्ट छलफल नभइ एकीकरण गर्नु नहुने उनीहरुको धारणा थियो । विवेकशीलका पूर्वसंयोजक उज्जवल थापाले पनि तत्काल साझा पार्टीसँग एकीकरण गर्नु नहुने अडान राखेका थिए । तर पार्टीमा बहुमत सदस्यले एकीकरण गर्ने निर्णय गरेका थिए ।

निर्वाचन आयोगले राई पक्षको नेपाल विवकेशील पार्टी दर्ता भएको प्रमाण पत्र आइतबार दिएको छ । त्यससँगै प्रतिक्रिया दिँदै पाण्डेले भनेका छन्, ‘तपाईंहरूलाई पार्टी दर्ताका निम्ति धेरै–धेरै बधाई छ । तपाईंहरूले सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति र विवेकशील आन्दोलनलाई न्याय गर्नुहुनेछ र नेतृत्व गर्नुहुनेछ भन्ने विश्वास छ ।’