बिगत सरकारको पालमा कोभिडका नाममा लुट र अनियमितता भए, अब हुन दिँइदैन

स्वास्थ्य तथा जनसंख्या मन्त्री, विरोध खतिवडा

४ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपालमा दुईवटा संविधानसभाले बनाएको संविधान च्यात्न केपी ओली उद्यत भएकाले आफुहरुले नयाँ पार्टी गठन गर्नुपरेको स्पष्ट पार्नुभएको छ । कार्यकर्तालाई व्यक्तिको दाश र नेताहरुलाई आफ्नो हरुवा चरुवा ठान्ने शैलीकै कारण उनी आफुहरुको नेता बन्न नसकेको जिकिर गर्नुभएको छ । भक्तपुरको बोडेमा शुक्रबार राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै मन्त्री खतिवडाले यही अहंकारका कारण केपी ओली बगरमा पुगेको टिप्पणी गर्नुभयो । ‘यही दम्भ पालेकै कारण उहाँले पार्टी त सिध्याउनुभयो नै, आफु पनि बालुवाटारबाट बालकोट, बालकोटबाट बार्दली पुग्नुभएको छ, दम्भ कम भएन भने अब पुग्ने भनेको बगर हो । ’ मन्त्री खतिवडाले भन्नुभयो ।

मन्त्री खतिवडाले उत्साहका साथ पार्टी काम गर्न र नआत्तिन कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘म ठोकुवा गरिदिन्छु, आगामी चुनावमा केपीको भन्दा हाम्रो पार्टी कुनै हालतमा सानो बन्दैन ।’ मन्त्री खतिवडाले केपी ओलीले आफुलाई एकमात्र राष्ट्रवादी, लोकप्रिय र जनपक्षीय नेता ठानेको र अरुलाई केही होइन र आफ्नो लोकप्रियताका कारण मात्रै जनताको विश्वास आर्जन गरेको भन्ने घमण्ड पालेको र सोही घमण्डले पार्टीलाई फुटमा लगेको जिकिर गर्नुभयो ।

उहाँले आफ्नो पालामा अनियमिता हुन नदिने प्रतिवद्धता जनाउनुभयो । भन्नुभयो, ‘ विगतमा कोभिडका नाममा लुट र अनियमितता भए, अब हुन दिँइदैन ।’
भेलाबाट प्राप्त सुझाव र निष्कर्षलाई गम्भिरता पुर्वक लिइ स्वास्थ्य क्षेत्र सुधारका लागि कदम चाल्ने उहाँले आश्वासन थियो । स्वास्थ्य राज्यमन्त्री भवानीप्रसा खापुङले राम्रो काम गर्न प्रयास गर्ने र राम्रो गर्न नसके पनि नराम्रो नगर्ने प्रतिवद्धता जनाउनुभयो ।