Breaking News

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १३ वडा अधिवेशन हुन बाँकी जिल्लामा निर्वाचन अधिकृत तोकिए

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकिएको छ । २ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो । बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन समितिले जनाइएको छ ।

यस्तै सप्तरीमा डा.रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत बनाएर पठाइएको छ । निर्वाचन अधिकृतहरु कात्तिक २२ गते तोकिएको जिल्लामा जापुग्ने निर्वाचन समितिले जनाइएको छ ।

निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ गतेका लागि मिति तोकेको छ । २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा काँग्रेसको जिल्ला अधिवेशन भइसकेको छ भने ६४ जिल्लामा पालिका अधिवेशन पनि सकिएको छ ।

नयाँ कार्यतालिका अनुसार १३ जिल्लामा पालिका अधिवेशन कात्तिक ३० गते हुने छ । यस्तै मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।

यस्तै हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन कात्तिक २७ र जिल्ला अधिवेशन मंसिर एक गते हुने छ । यस्तै जिल्ला अधिवेशन हुन बाँकी जुम्लामा पनि मंसिर एक गते अधिवेशन हुने छ । पालिका अधिवेशन सम्पन्न भएका बाँकी ६४ वटा जिल्लामा मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशन हुने छ ।

मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ । उक्त कार्यतालिका प्रभावित नभए मंसिर २४–२६ मा काँग्रेसले १४ औं महाधिवेशन गर्ने छ । काँग्रेसले १४ औं महाधिवेशन तयारी समिति गठनसहितका विषयमा छलफल गर्न कात्तिक २८ गतेका लागि केन्द्रीय समितिको बैठक पनि बोलाएको छ।