प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन

१४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ । कसैकसैले कालो र सेतोपट्टी दुबै बाँधेर प्रदर्शन गरेका छन् ।

नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

यसरी प्रदर्शन गर्नेमा कानून व्यवसायी स्वागत नेपाल र भूमिनन्द चुडाल लगायत छन् । कानून व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरु बन्चित भएको विषयमा सहमत नभएकाले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको बताए ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस पैरवी रोकेका छन् । न्यायाधीशहरुले पनि इजलास बहिस्कार गरेका छन् ।

यसको विरोधमा अभिव्यक्ति दिँदा अधिवक्ता चुडाल बार एशोसिएसनको परिसरमा कुटिएका थिए । उनी पनि सेतो पट्टी बाँधेर प्रदर्शनमा सहभागी भएको देखिएको छ ।