म्यानचेस्टर युनाइटेडले टोटनह्याममाथि ३–० को सहज जीत हासिल

एजेन्सी

क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि म्यानचेस्टर युनाइटेडले टोटनह्याममाथि ३–० को सहज जीत हासिल गरेको छ । गत हप्ता चिरप्रतिद्वन्द्वी लिभरपुलविरुद्ध लज्जास्पद हार बेहोरेपछि दबाबमा रहेका युनाइटेडका म्यानेजर ओली गनर सोल्क्सायरलाई यो जीतले केही राहत मिलेको छ ।

पहिलो हाफको अन्त्यतिर ब्रुनो फर्नान्डेजको पासमा उत्कृष्ट भली गर्दै रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रोनाल्डोले एडिन्सन काभानीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे । जीतपछि युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

१० खेलबाट युनाइटेडको १७ अंक रहेको छ । टोटनह्यामले लिगको आठौँ स्थानमा रहेको छ । उता चेल्सीले पुछारमा रहेको न्युक्यासलमाथि ३–० को जीत निकाल्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउन सफल भएको छ ।

फरवार्डद्वय रोमेलु लुकाकु र टिमो वेर्नरका साथै मेसन माउन्ट बिना मैदानमा उत्रेको चेल्सीका रिस जेम्सले दुई गोल गरे भने खेलको अन्त्यतिर जोर्गिन्होले पेनाल्टीबाट गोल गरे ।

जीतपछि चेल्सीले १० खेलबाट २५ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको २२ अंक रहेको छ ।