Breaking News

न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्न सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई भेट्दै

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई सामूहिक भेट्ने भएका छन् । न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्न उनीहरुले प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् । भेट साढे ११ बजेको समय तय भएको छ ।

‘भेटघाटमा के–के विषयवस्तु उठाउने भनेर हामीले तयारी गरेका छौं । तर भेटघाट हुनुअघि ती विषय बाहिर नल्याउने सहमति भएको छ’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘उहाँको रवैया कस्तो हुन्छ, त्यसका आधारमा हामी फेरि छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्नेछौं ।’

भेटघाटको विषयवस्तु तय गर्न सोमबार सर्वोच्च अदालतका १३ जना न्यायाधीश छलफलमा जुटेका थिए । अघिल्लो दिन बैंठकमा सहभागी भएका न्यायाधीश नहकुल सुवेदी भने विदामा बसेका कारण बैठकमा सहभागी हुन पाएनन् ।

सोमबार नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई ‘निकास दिन’ आग्रह गर्ने निर्णय गरेको थियो । सर्वोच्च बारले पनि अपरान्ह त्यस्तै निर्णय गर्यो । चार पूर्वप्रधानन्यायाधीशहरुले अवेर राति विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह गरेका थिए ।

संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेका प्रधानन्यायाधीश जबरा राजीनामा दिनुपर्ने दबाबमा छन् ।