Breaking News

प्रभु साह एमालेमा नबस्ने : ५१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दै नेकपा ब्यूताउने तयारीमा

अदालतले नेकपा लाई खारेजगरी साविकै नेकपा एमाले र नेकपा माओवादी केन्द्र लाई ब्यूताएपछि तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री प्रभु साह परित्याग गरी नेकपा एमालेमा लागेका थिए । पछिल्लो चरणमा अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् । उनले पुरानै नेकपालाई ब्युँताउने भएका छन् । ‘नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको छ ।

‘केपी ओलीले हाम्रा ८ बुँदे मागहरु पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति मात्र लिएको हुनाले हामी एमालेमा रहन नसक्ने भयौं, प्रभु साह निकट एकजना नेताले रातोपाटीसँग भने, ‘त्यसैले अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार भइसक्यो, केही दिनमै घोषणा हुन्छ ।’

नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले पनि साथ दिने बुझिएको छ । साहले बनाउने केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश हुने स्रोतको दाबी छ ।

रौतहट​का​ पूर्वमाओवादी सांसद एवं पूर्ववर्ती ओली नेतृत्वको सरकारका मन्त्री रहेका साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेका थिए । आइटी आर्मीको ब्यानरमा प्रदेश २ मा विभिन्न कार्यक्रमहरु गरेका उनले यसमार्फत सातै प्रदेशमा नेटवर्क बनिसकेको बताउँदै अब देशैभरि नेकपा पुनर्जाग्रित गर्ने लाइन लिएको स्रोतले बतायो ।