चार वर्ष पछि पुन मतगणना : स्वतन्त्र उम्मेदवारले स्वतन्त्र उम्मेदवार बिजयी

महोत्तरीको एक वडामा हारेका उम्मेदवारलाई वडाध्यक्ष बनाइएको खुलेको छ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवारलाई जिताइएको पाइएको हो।

त्यसबेला मतगणना गर्दा दुई उम्मेदवारको बराबर मत आएको भनिएको थियो।

तर यसबारे उच्च अदालत जनकपुरमा मुद्दा परेको थियो। उच्च अदालत जनकपुरको आदेशपछि आज गरिएको मतगणनामा मनरासिस्वा नगरपालिका वडा नम्बर १० मा २ मतले रमेश राय वडाध्यक्ष विजयी भएको पाइएको छ।

२०७४ असोज २ मा भएको स्थानीय तह चुनावमा दुबै जनाले २६७ मत ल्याएको भन्दै गोलाप्रथाबाट अरूणकुमार चौधरीलाई वडाध्यक्ष बनाइएको थियो। अरूणकुमार नेपाली कांग्रेसबाट उम्मेदवार थिए।

तर आज सम्पन्न मतगणनामा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार रायको पक्षमा २६८ र चौधरीको पक्षमा २६६ मत मात्र खसेको खसेको पाइएको उच्चअदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।

उनका अनुसार ९९ वटा मत बदर भएको छ।

वडाध्यक्षमा विजयी भएका रायका अनुसार मतगणनाको अन्तिम चरणमा आएर निर्वाचिन अधिकृतको मिलिमतोमा जेनेरेटर बन्द गरेर धाँधली गरिएको थियो।

ncell in

‘मतगणना सकिनै लागेको बेला तेल सकियो, समस्या आयो भनेर २/३ पटक जेनेरेटरको लाइन काटियो। अँध्यारोमा मतगणनामा खटिएका अधिकृतले बदर भएर बाहिर राखिएको तीन वटा मतपत्र निकालेर रुख छापमा सदर गरिदिए,’ त्यसबेलाको घटना स्मरण गर्दै रायले भने।

त्यतिखेर धाँधली भएको भन्दै विरोध गरी मतगणनाका लागि पटक–पटक आग्रह गरे पनि निर्वाचन अधिकृतले नमानेको उनको भनाइ छ।

मतगणनामा धाँधली भएको भन्दै रायले उच्च दालतमा रिट दायर गरेका थिए। पुन: मतगणना गर्न आदेश जारी गरिपाउँ भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरविरूद्ध उनले हालेको रिटमा सुनुवाइ गर्दै उच्चअदालत जनकपुरले पुनः मतगणना गर्न आदेश दिएको थियो।

तर निर्वाचित घोषणा गरिएका चौधरी उक्त फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए। सर्वोच्चले समेत सोही आदेश सदर गरेपछि जनकपुर उच्च अदालतले पुरानो मुद्दा ब्युँताएर पुन: मतगणना गर्ने मिति तोकिदिएको थियो।

बल्ल न्याय पाएँ: वडाध्यक्ष राय

महोत्तरीको मनरासिस्वा नगरपालिका १० को वडाध्यक्षमा विजयी भएका रमेश रायले देशमा न्याय अझै नमरेको प्रतिक्रिया दिएका छन्। ढिलै भए पनि आफूले न्याय पाएको उनको भनाइ छ।

२०७४ साल असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा गोलाप्रथा गरी पराजित घोषणा गरिएका उनले पैसा खाएर अगामी चुनावमा धाँधली गर्नेका लागि ठूलो सबक रहेको बताए।

‘चुनावमा पैसा खाएर धेरै निर्वाचन अधिकृतले पक्षविपक्ष गर्न थाल्छन्। यो परिणामले उनीहरु पनि अब डराउनेछ,’ उनले भने।

स्वतन्त्र उम्मेदवारी दिएर चार वर्षपछि निर्वाचित घोषणा गरिएका उनी अगामी निर्वाचनमा जनता समाजवादी पार्टीबाट प्रदेश सभा निर्वाचनमा आकांक्षी रहेको बताए।

‘बजेट सबै सकाइदिएको रहेछ। वडाका लागि अब म केही गर्न सक्दिनँ। समय पनि छैन। अब राम्रो काम गर्छु र प्रदेशभामा टिकट पाएँ भने फेरि जितेर देखाउँछु,’ उनले थपे।