प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा यसबाहेक केही दैनिक प्रशासनिक कार्य सञ्चालनका सन्दर्भमा पनि निर्णय हुने बताइएको छ । आजै मन्त्रिपरिषद् बैठकअघि देउवाले विपद् प्राधिकरणको बैठक पनि बोलाएका छन् ।

आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार ११ जिल्लाका ४८ जनाको बाढी तथा पहिरोका कारण मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यस्तै डोटीमा १ जना, बझाङमा २३ जना, प्युठानमा २ जना र इलाममा ५ जना बेपत्ता भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यस्तै ७ जिल्लाका २३ जना घाइते भएका छन् । यस्तै २० घरमा बाढी पहिरोले क्षति पुर्याएको पनि मन्त्रालयले जनाएको छ ।