दशैंको टिका साईतै लगाउनु पर्ने : टिकाको साईत १०ः ०२ बजे

२९ असोज, काठमाडौं । नेपालीहरुको महान चाँड बडा दशैको आज १० औं दिन आज मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत भनेर १० बजेर २ मिनेटलाई तोकिदिएको छ ।

यसको मतलब १० बजेर २ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ?

‘हुन्छ, आज बिहान ८ बजेर १९ मिनेटमा देबी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले भने । देवी विसर्जन नगरी टीका लगाउन भने नहुने उनले बताए ।

‘साइतमा मिल्छ भने १० बजेर २ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने । अगाडि लगाए पनि हुन्छ, पछाडि लगाए पनि हुन्छ,’ प्रा।डा। गौतमले भने ।

देवी विसर्जनको समय अगाडि टीका लगाउन मिल्दैन ?

देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले बताए ।

टीका लगाउनुअघि आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जनको साइत तोकिएको छ । विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।

टीका र जमरा देवीको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न आज दिनभरी नै टीका लगाउन शुभ हुने अधिकारीले बताए । आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १० बजेर २ मिनेटको दिइएको उनले बताए । समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाए राम्रो हुने उनले बताए ।

कतैकतै पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ । पूर्णिमासम्म टीका लगाउँदा पनि केही फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा।डा। गौतमले बताए । ‘देवीको प्रसाद हो, पूर्णिमासम्म लगाउँदा पनि राम्रै हुन्छ,’ उनले भने ।

मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।