मुगु बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत

२७ असोज, काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यो घटनाबाट मुगु शोकमा डुबेको छ ।

दुर्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षीया अमृता शाही राणा, ५ वर्षीय आयुष राणा, २२ वर्षीय महेन्द्र शाही र २० वर्षीया मनदेवी बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यस्तै, छायानाथ रारा नगरपालिका १० की १८ वर्षीया पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षीया प्यारी विक ९कामी०, ३५ वर्षीय दानबहादुर रावल र २२ वर्षीय सन्तोष बिकालुको मृत्यु भएको छ । वडा नम्बर १० कै २० वर्षीया सरिता खड्का, १८ वर्षीय अमर साउद र २२ वर्षीय सुनबहादुर विकको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा छायानाथ रारा नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय छाता साउद, वडा नम्बर १४ का २२ वर्षीय कर्णसिंह बुढा, १९ वर्षीय शिव बुढा र २० वर्षीय रुपसिंह कार्की, वडा नम्बर १ की २३ वर्षीया चन्द्रा मल्ल, वडा नम्बर ६ की १९ वर्षीया राममाया धामी, वडा नम्बर ११ का २२ वर्षीय प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षीय अजय कार्की र ३२ वर्षीया कमला बीसी राउतको ज्यान गएको छ ।

यस्तै, दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षीय मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षीय प्रदीप स्वर्णकारको पनि ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाएका अन्यको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

करिब ४५ यात्रु सवार बस भिरालो कच्ची बाटोबाट करिब २ सय मिटर तल खसेको थियो । बस दुर्घटनाको कारण खुलेको छैन ।