उदयपुरमा थप एकजना कोरोना संक्रमित भेटिए

६ वैशाख, काठमाडौं । कोरोना भाइरसले संक्रमत लिन थालेपछि फेरि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।
यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपालीलाई शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा लगिएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये आजै दुई जना निको भएर घर फर्किएका छन् ।