अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमलामा परेर ५० जनाको मृत्यु

एजेन्सी

अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमलामा परेर ५० जनाको मृत्यु भएको छ । शुक्रबार भएको यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको सबैभन्दा ठूलो आत्मघाती हमला हो । शिया मुस्लिमहरुको सैद आबाद मस्जिदमा भएको आक्रमणलगत्तै दर्जनौ शव यत्रतत्र छरिएका थिए ।

सो आक्रमणमा परेर एकसय बढी घाइते भएका छन् । इस्लामिक स्टेटले यो आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा शिया मुस्लिम समुदायमाथिको आक्रमणमा सुन्नी मुस्लिम चरमपन्थीहरुको हात रहेको आरोप लाग्दै आएको छ ।

अफगानिस्तानमा आइएस के ले लगातार तालिबान सरकारको विरोध गर्दै आइरहेको छ र देशका पूर्वी क्षेत्रमा दर्जनौ पटक विष्फोट गराइसकेको छ । शुक्रबार पनि मस्जिदमा नामाज पढिरहेका बेला एक आत्मघाती आक्रमणकारीले शरीरमा बाँधिएको विष्फोटक पदार्थ विष्फोट गराएका थिए ।

मस्जिदमा ३ सय बढी व्यक्ति नामाज पढिरहेका थिए । घटनामा मर्नेहरुको संख्या अझै बढ्न सक्ने स्थानीय सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।  संयुक्त राष्ट्रसंघले घटनाको भर्त्सना गर्दै शुक्रबार भएको विष्फोटको घटना ‘एक धार्मिक संस्थालाई लक्षित गरी यो हप्ता भएको तेश्रो घातक हमला’ भनेको छ । यसअघि आइतबार काबुलको एक मस्जिद र बुधबार पूर्वी शहर खोस्तको एक मदरसामा पनि आक्रमण भएको थियो ।

अफगानिस्तानबाट अमेरिकन सेना बाहिरिएलगत्तै तालिबान समूहले सत्ता कब्जा गरेको थियो । त्यसपछि इस्लामिक स्टेटले लगातार आत्मघाती आक्रमण गर्दै आएको छ । पछिल्ला दिन अमेरिकाले भने तालिवान सरकारसँग कुटनीतिक वार्ता गर्ने घोषणा गरेको छ ।