Breaking News

जनता समाजवादी पार्टी (जसपा) ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो

२२ भदौ, काठमाडौं । मन्त्रीपरिषद्लाई आज पूर्णता दिन लागिएको छ । यस क्रममा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपां) ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् ।

स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।

जसपा कार्यकारिणी समितिले मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादव, संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । तीन नेताले मन्त्री छनोटको मापदण्ड बनाएका थिए ।

नेताहरुका अनुसार पूर्व राजपा पक्षबाट आएकाबाट महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साह दाबेदार थिए । अध्यक्ष यादवले प्रमोदलाई छनोट गरेका छन् । प्रदेश २ बाहिरबाट राजेन्द्र श्रेष्ठ र इतियाक राई तथा महिलाबाट रेणू यादव र अमृता अग्रहरी दाबेदार थिए । श्रेष्ठ र यादवले मन्त्री बन्ने अवसर पाएका छन् ।

सरकार र पार्टीको कामलाई जोड्न भूमिका खेल्न सक्ने मन्त्री रुपमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका रामसहायलाई छनोट गरेका छन् ।