दक्षिण अमेरिकी मुलुक इक्वेडरमा मरेका मान्छेको शव सडकमा अलपत्र

कदर न्युज

बैशाख ६, काठमाण्डौ । कोरोना भाइरसका कारण दक्षिण अमेरिकी मुलुक इक्वेडरमा कोरोनाका कारण रिपोर्ट गरिए भन्दा धेरै जनाको ज्यान गएको बिबिसीले जनाएको
छ । त्यहाँ आधिकारिक रूपमा कोरोनाका कारण ४ सय ३ जनाको ज्यान गएको बताइए पनि त्यहाँको एक प्रान्तले दिएको तथ्यांकले भने हजारौंको मृत्यु भएको देखाएको छ ।
इक्वेडरको गुवायस प्रान्त सरकारका अनुसार अप्रिलको पहिलो दुई सातामा मात्र त्यहाँ ६ हजार ७ सय जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट बढी प्रभावित गुयस सहर इक्वेडरको सबभन्दा ठूलो सहर हो ।
बिबिसीले प्राप्त गरेको भिडिओ फुटेजमा त्यहाँका मानिसहरूले मृतकहरूको शवलाई पाँच दिनसम्म पनि घरमै राख्न बाध्य भएको देखाइएको छ । सरकारी अधिकारीहरूले ठूलो संख्यामा रहेका शव व्यवस्थापन गर्न असमर्थ भएपछि घर तथा सडकमै प्लास्टिकमा बेरेर छोडिदिएका छन् ।
गत हप्तादेखि अधिकारीहरूले त्यहाँका बासिन्दाहरूलाई हजारौं कफिन वितरण गर्न सुरू गरे। त्यसैगरी कफिन आवश्यक परेकाको सहयोगको लागि त्यहाँ एउटा हटलाइनको समेत व्यवस्था गरिएको छ । यो समस्या समाधान गर्नका लागि बनाइएको पुलिस इकाईका प्रमुख जोर्ज वेट्डका अनुसार यो साताभर सहरका घरबाट ७ सय ७१ शव हटाइएको छ ।
सरकारको तथ्यांक अनुसार मार्च महिनादेखि गुयस प्रान्तमा १४ हजार ५ सय ६१ जनाको मृत्यु भइसकेको छ । यस अनुसार प्रान्तमा औषतमा महिनामा दुई हजार जनाको ज्यान गइरहेको छ । जोन्स हपकिन्स् विश्वविद्यालयका अनुसार इक्वेडरमा हालसम्म ८ हजार २ सय २५ कोरोना संक्रमण पुष्टि भएको छ । व्यापक परीक्षणको अभावमा कम देखिएको उसको भनाइ छ ।

गुयसका अधिकारीहरूले भने कोरोना भाइरसको संक्रमण रोक्नलाई सुरूदेखि नै कडा नियम लागू गरेको भए पनि मानिसले नमानेको बताएका छन् । तर, विज्ञहरूले भने यसमा थप बढी कार्य गर्न सकिने बताइरहेका छन् । तीव्र गति परीक्षण गरेर संक्रमितहरू चाँडो पत्ता लगाइ उपचार गर्न सम्भव हुने उनीहरूको भनाइ छ । कम परीक्षणका कारण समुदायमा भाइरस कसरी फैलियो भन्ने बुझ्न कठिनाइ भइरहेको उनीहरूको धारणा छ ।
इक्वेडरका उपराष्ट्रपति ओट्टो सोन्नेनहोलजरले महामारीबारे सरकारले ढिलो प्रतिक्रियाका दिएको स्वीकार्दै उनले देशवासीसँग यसै महिना माफी मागेका थिए । हामीले यस्ता दृश्य देख्यौं जुन कहिल्यै नदेख्नु पर्ने थियो। तपाईंहरूको सेवक, म सबैसँग माफी माग्न चाहन्छु ।